ब्रसेल्स । युरोपेली संघले शुक्रबार रूसी केन्द्रीय बैंकका सम्पत्ति कुनै पनि प्रकारले रुस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “संघको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो निर्णय तत्काल प्रभावका लागि गरिएको हो ।”निर्णय अनुसार, रूसी केन्द्रीय बैंकको सम्पत्ति पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । यसले रूसी बैंकको तर्फबाट वा निर्देशनमा कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा निकायसँग सम्बन्धित लेनदेनलाई पनि समेट्छ ।
युरोपेली परिषद् अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमा लेख्छन्,“अक्टोबरको परिषद् बैठकमा रूसी सम्पत्ति सुरक्षित राख्ने प्रतिबद्धता जनाइएको थियो र शुक्रबारको निर्णयले त्यस प्रतिबद्धता पूरा गरेको हो ।
विज्ञप्तिमा यो कदम अस्थायी भए पनि रुसलाई युक्रेनसँगको युद्धका लागि वित्तीय वा अन्य स्रोत उपलब्ध गराउँदा संघको अर्थतन्त्रमा असर पर्न सक्ने अवस्थामा प्रतिबन्ध जारी रहने उल्लेख छ ।
यस निर्णयअनुसार करिब दुई लाख दस हजार करोड युरो मूल्यको सम्पत्ति लक हुनेछ । यसमा करिब एक लाख नब्बे हजार करोड युरो बेल्जियमस्थित वित्तीय संस्था युरोक्लियरमा सुरक्षित छ ।
सम्पत्ति रुस–युक्रेन द्वन्द्व सुरु भएपछिको युरोपेली सङ्घका प्रतिबन्धअन्तर्गत सुरक्षित राखिएको हो । यी प्रतिबन्धहरू हरेक छ महिनामा २७ सदस्य राष्ट्रको सर्वसम्मत अनुमतिसहित नवीकरण गर्नुपर्छ ।
हङ्गेरी र स्लोभाकियाले युक्रेनको समर्थन बढाउन विरोध गरे पनि शुक्रबारको निर्णयले उनीहरूलाई प्रतिबन्ध नवीकरण अवरुद्ध गर्न नसक्ने बनाएको छ ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले लेखेका थिए,“आजको निर्णयसँगै युरोपेली संघमा कानुनको शासन कमजोर भएको अनुभूति हुन्छ । हङ्गेरीले कानुनी व्यवस्था पुन:स्थापना गर्न आफ्नो सक्दो प्रयास गर्नेछ ।”
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले भनेका थिए,“उनले युक्रेनका आगामी सैन्य खर्चको लागि रुसको सम्पत्ति प्रयोग गर्ने कुनै पनि योजना समर्थन गर्ने अवस्थामा छैनन् ।
यस निर्णयको एक हप्ता पछि डिसेम्बरमा हुने युरोपेली परिषद् बैठकमा नेताहरू युक्रेनका तत्काल वित्तीय आवश्यकताहरू पूरा गर्ने उपायबारे छलफल गर्नेछन् । अक्टोबरको बैठकमा रुसको सम्पत्ति युक्रेनको क्षतिपूर्ति ऋणको लागि प्रयोग गर्ने योजना बनाउन नेताहरू असफल भएका थिए ।
रूसी बैंकले आफ्नो सम्पत्ति प्रयोग गर्ने युरोपेली योजना विरुद्ध कानुनी कदम चाल्ने निर्णय गरेको छ । बैंकले यस प्रकारका कदमले अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिकताको उल्लङ्घन गर्न सक्ने चेतावनी दिएको छ । रूसी राज्य समाचार एजेन्सी टास्कका अनुसार, रूसी बैंकले युरोक्लियर विरुद्ध मस्को मध्यस्थ अदालतमा मुद्दा दायर गरेको छ र क्षतिपूर्तिको माग गरेको छ ।