काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ ।
उनीहरुले कामै नगरी ११ लाखभन्दा बढी रकम निकासा लिएको आरोपसहित आयोगले २०८० माघ २५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले ०८१ असार १८ मा दिएको सफाइ त्रुटिपूर्ण भन्दै आयोगले शुक्रबार उनीहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
आर्थिक वर्ष ०७५र०७६ मा तिरहुत गाउँपालिका-५ स्थित पर्यटन क्षेत्रमा आरसीसी गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन र व्यवस्थापनसम्बन्धी कार्यमा काम गरेभन्दा ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ बढी भुक्तानी लिएको आयोगको आरोप छ । 