एनपीएलको दोस्रो सिजनका केही खेल हेरेपछि धेरैलाई लागेको थियो सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बलिया २ टोली हुन् । हुन पनि यी दुबै टोलीले त्यो कुरालाई पुष्टि गर्दै शिर्ष २ मा रहँदै अर्को चरणमा पुगे । सुदूरपश्चिमले १ खेल मात्र हार्दै पहिलो स्थानमा रह्यो भने विराटनगर दोस्रो स्थानमा रह्यो । तर रोचक चाहिँ के भयो भने विराटनगरले पहिलो चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई नै हरायो । त्यो पनि फराकिलो अन्तरले ।
यीनै २ टोली प्रतियोगिताको पहिलो क्वालिफायरमा फेरि खेल्दैछन् । यो खेल जित्ने टोली फाइनल पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरबाट जितेर आउने अर्को टोलीसँग खेल्नुपर्नेछ । उक्त खेल जित्ने टोलीले उपाधिका लागि आज जित्ने टोलीसँग खेल्नेछ ।
सुदूरपश्चिमको लगातार ६ खेलको विजयी यात्रालाई रोक्दै शिर्ष २ मा परेको विराटनगरले आज त्यही लय समाउने दाउमा हुनेछ । दक्षिण अफ्रिकी ब्याटिङ स्टार फाफ डु प्लेसिस र अस्ट्रेलियन खेलाडी साम हेजलेटको तुफानी ब्याटिङपछि विराटनगरले १२ ओभरभित्रै १ सय ५० रन बनाएरको विराटनगर त्यस्तै प्रदर्शनको आशामा छ । डु प्लेसिस आएपछि विराटनगरको ब्याटिङ थप बलियो बनेको छ भने भेट्रान ब्याटर मार्टिन गप्टिलको चोट निको हुनु विराटनगरका लागि अर्को खुशीको कुरा हो । उता अस्ट्रेलियन ब्याटरद्वय जस ब्राउन र क्रिस लिन फर्किएपछि सुदूरपश्चिमको लय केही खराब हुन सक्ने आँकलन गरिएको छ । उनीहरू फर्किएपछि सुदूरपश्चिमले आईपीएल खेलिसकेका भारतीय खेलाडी सेल्डन ज्याक्सन र हाल अमेरिकामा रहेका पाकिस्तानका पूर्वखेलाडी मुख्तर अहमदलाई टोलीमा ल्याएको छ । उनीहरूको प्रदर्शन कस्तो हुने हो भन्नेले पनि सुदुरपश्चिमको खेल तय हुनेछ ।
सुदूरपश्चिमको टोलीमा रहेका नेपालका खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । कप्तान दीपेन्द्रसिंह एरीको अलराउन्ड प्रदर्शनका साथै विनोद भण्डारी अविनाश, बोहोरा, इसान पाण्डे, आरिफ सेखलगायत खेलाडीको राम्रो भरथेग गरेका कारण सुदूरपश्चिमले सुन्दर प्रदर्शन गरिरहेको छ । यता विराटनगर पनि कप्तान सन्दीप लामिछानेको उच्च लयका साथै वसिर अहमद, लोकेश बम, सूर्य तामाङ, प्रतीश जीसीलगायतको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।
अपरान्ह ४ बजे शुरु हुने आजको खेलमा जित हात पार्ने टोली कम्तिमा एनपीएलको उपविजेता बन्ने पक्का हुनेछ । हार्ने टोलीलाई इलिमिनेटरको विजेतलाई जितेर फाइनल पुग्ने सम्भावना भने कायमै रहन्छ ।