मुस्ताङ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् ।
भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३/७४ सालदेखि सुरु भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ । आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए ।
नका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से खोला, थासाङ गाउँपालिका-४ स्थित खहरे खोला र वारागुङ मुक्ति क्षेत्र-४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको उल्लेख गरे । यहाँका पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको इन्जिनियर चापागाईँको भनाइ छ ।
कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहु घाट पुल घट्टे खोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ । त्यसैगरी, आयोजनाअन्तर्गत मुस्ताङ खण्डको थासाङ-३ स्थित लेतेखोला, सेतो खोला पुल, थासाङ-२ स्थित छाक्ताङ खोला, घरपझोङ-२ स्थित मार्फा खोला पुल, घरपझोङ-३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ-३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर-१ स्थित चराङखोला पुल सम्पन्न भइसकेको जनाएको छ ।
त्यसैगरी, आयोजना कार्यालयअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको आयोजनाका इन्जिनियर चापागाईँको भनाइ छ । यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालयमार्फत ठेक्का सम्झौता भएकामध्ये ६ पुल गत आवमा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण गरिएका थिए । इन्जिनियर चापागाईँका अनुसार मुस्ताङ खण्डको थासाङ–३ लेतेमा निर्माणाधीन सेतो खोला, घरपझोङ-२ स्थित मार्फा खोला, वारागुङ-३ छुसाङस्थित नरसिंह खोला, लोघेकर दामोदर कुण्ड-१ स्थित चराङखोला र लोमान्थाङ गाउँपालिकास्थित किम्लिङ र भर्माखोला पुल गत आव २०८१/८२ मा सम्पन्न भएका हुन् ।
आयोजना कार्यालयअन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन थासाङ-४ स्थित कैकुखोला, थासाङ-२ स्थित लार्जुङखोला र लोघेकर दामोदर कुण्ड-२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका इन्जिनियर चापागाईँले बताए । यहाँ निर्माणाधीन तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आवभित्र आयोजना कार्यालयलाई हस्तान्तरण भइसक्ने इन्जिनियर चापागाईँको भनाइ छ ।
निर्माणाधीन रहेका तीन पुलको फाउन्डेसन र स्ल्याप ढलान भइसकेको र एप्रोज सडकसहित पुल फिनिसिङलगायतका कार्य बाँकी रहेको उनले बताए । आयोजनाले कोरला सडकमा छवटा बेलिब्रिज निर्माण गरेको जनाएको छ । आयोजनाले म्याग्दीको बेनीस्थित काली पुल, तातोपानी, रुप्से, कागबेनी खोला र पहिल्यै निर्माण गरेको थासाङ-२ घट्टेखोला र थासाङ-१ टुकुचेस्थित थापा खोलामा बेलिब्रिज स्थापना गरिसकेको जनाइएको छ । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की पुल गरी १९ पुल निर्माण गरिसकेको जनाएको छ ।
त्यसैगरी, कोरला सडक आयोजनाले कार्यान्वयन गरेका बाहेक पर्वतको मालुढुंगादेखि मुस्ताङ खण्डसम्म आठ वटा पक्की पुल निर्माण भइसकेको छ । पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भई निर्माण तथा मर्मतसम्भार भएका आठ पुल सम्पन्न भएका हुन् । जसअन्तर्गत आयोजनाबाहेक निर्माण भएका पर्वतको दमुवाखोला, लस्त खोला, मिलन चोक खोला र म्याग्दीको बेनीस्थित कालीगण्डकी खोला, बेगखोला, कालीगण्डकीस्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला पुल निर्माण भएका हुन् । त्यसैगरी, मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल यसअघि नै सम्पन्न भइसकेका छन् । यहाँको जोमसोमस्थित पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।