काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेटमा आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्स खेल्दैछन् । खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघिका पाँचमध्ये ४ खेल जितेको विराटनगर ८ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ भने समान पाँच खेलबाट ४ अंक मात्र जोडेको लुम्बिनी छैटौँ स्थानमा छ।
प्लेअफको सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने दबाब छ । यस्तै विराटनगर आजको खेल जित्दै प्लेअफको सम्भावना लगभग सुनिश्चित गर्न चाहन्छ ।
विराटनगरबाट एनपीएल खेल्न विश्व क्रिकेटकै एक हस्ती दक्षिण अफ्रिकाका फाप डुप्लेसीस काठमाडौँ आइसकेका छन् ।
यसैपनि राम्रो प्रदर्शन गरिरहेको विराटनगर उनको आगमनले अझ बलियो भएको आँकलन गरिएको छ । यस्तै लुम्बिनी पनि गतवर्षको भन्दा प्रदर्शनमा सुधार गर्दै अघि बढिरहेको छ । यो खेलमा तुलनात्मक रुपमा विराटनगर बलियो देखिए पनि लुम्बिनीले कडा टक्कर दिने विश्लेषण गरिएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ भने बाँकी ३ टोलीमा अटाउने रस्साकस्सी चलिरहेको छ।