दमौली (तनहुँ) । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो ।
त्यस अवधिमा रु १० लाखसम्मका १६, रु १० लाखदेखि २० लाखसम्मका ५३, रु २० लाखदेखि रु दुई करोडसम्मका ९६, रु दुई करोडदेखि पाँच करोडसम्मका दश र रु पाँच करोडमाथिका चार योजना सम्पन्न भएको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए।
तिवारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा ३४, म्याग्दे गाउँपालिकामा १२, भिमाद नगरपालिकामा २६, ऋषिङ गाउँपालिकामा तीन, व्यास नगरपालिकामा ३८, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, भानु नगरपालिकामा ३०, देवघाट गाउँपालिकामा पाँच र घिरिङ गाउँपालिकामा छ योजना सम्पन्न भएका छन् ।
कार्यालय मातहत ‘एक निर्वाचन क्षेत्र : एक सडक’ अन्तर्गत चार निर्वाचन क्षेत्रमा सडक निर्माणाधीन अवस्थामा छन् । तिवारीका अनुसार भानु चन्द्रावती सडक, दुलेगौडा हर्कपुर सडक, आँबु भाँगे छिम्केश्वरी सडक, आँबु भाँग छिम्केश्वरी सडक दोस्रो खण्ड निर्माणाधीन छ ।
प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत शालिग्राम दुई, ढोरवाराही सडक, बुद्धसिंह मार्ग निर्माणाधीन अवस्थामा रहेको तिवारीले उल्लेख गरे । प्रादेशिक सडक ‘ख’ वर्गअन्तर्गत सिन्धु मार्ग, कृष्ण मार्ग, श्रृङ्ग पथ, सहिद लालध्वज मार्ग, दमौली केशवटार सुखौरा बन्दीपुर सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
यसैगरी अन्य सडक निर्माण कार्यक्रमअन्तर्गत एक सय २९ मध्ये ५३, सडक पुल निर्माण तथा सम्भार कार्यक्रमअन्तर्गत १५ मध्ये दश, झोलुङ्गेपुल निर्माण तथा सम्भार अन्तर्गत पाँचमध्ये तीन निर्माणाधीन अवस्थामा छ ।
कार्यालयले सो अवधिमा केही योजना समय अगावै निर्माण सम्पन्न गरेको छ । व्यास नगरपालिका–५ रानीटारी हुँदै म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने रानीटारी घुम्ती सडक समय अगावै सम्पन्न गरेको छ । नौ किलोमिटर उक्त सडक रु ३६ करोड ६२ लाख ९१ हजार ५४ को लागतमा विसं २०८१ फागुन ९ गतेसम्म सम्पन्न भएको छ ।
यस्तै मानपुर डेढगाउँ बुलिङटार सडकमा रु २६ करोड एक लाख ५७ हजार नौ सय २३ को लागतमा विसं २०८१ पुस ६ गते कालोपत्र सम्पन्न भएको छ ।
शालिग्राम कोरिडोर अन्तर्गत दोस्रो खण्डमा रु १७ करोड ६९ लाख ३३ हजार तीन सय एकको लागतमा विसं २०८१ मङ्सिर ३० गते कालोपत्र सम्पन्न भएको तिवारीले जानकारी दिए।
सडकपुलतर्फ भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–१० जोड्ने क्याङ्दी खोलामा रु पाँच करोड ५७ लाख ९२ हजार आठ सय ६६ को लागतमा विसं २०८२ जेठ २० गते पुल निर्माण सम्पन्न भएको छ । यस्तै भिमाद नगरपालिका–१ डुम्रीवेशीमा रु सात करोड ५३ लाख ६४ हजार तीन सय ८२ को लागतमा पुल निर्माण सम्पन्न भएको छ । चुँदीखोलामा रु दश करोड दश लाख ९१ हजार नौ सय ६६ को लागतमा पुल निर्माण सम्पन्न भएको तिवारीले बताए ।