काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका २८५ अस्थायी कार्यालयहरू अब स्थायी हुने भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास गरेसँगै २८५ कार्यालयहरू अब स्थायी कार्यालयको रूपमा परिणत भएका छन् ।
यो निर्णयसँगै सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थायी हुने भएका हुन् । यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपालका १११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको सङ्ख्या ३९६ वटा पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरूको स्तरबृद्धि गरी नयाँ संरचना तयार गरिएको छ । संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं। १८ निलबाराही गणको स्तरबृद्धि गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ ।