नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आज दुई छिमेकी टोली प्रतिस्पर्धा गर्दैछन् । अपराह्न ४ बजेदेखि सुरू हुने आजको खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स खेल्न लागेका हुन् । त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर हौसिएको चितवन आज पनि आफ्नो विजयी यात्रा जारी राख्न चाहन्छ ।
राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीमा डी आर्सी सर्ट, थोमस ड्राका, गुलबदीन नाइब, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान लगायत विदेशी खेलाडी छन् । यस्तै नेपालका सन्दीप जोरा, दिलीप नाथ, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल रहेको यो टोली गतसिजनको खराब प्रदर्शन विर्साउने तयारीमा रहेको छ । लुम्बिनीको प्रशिक्षकमा भारतका टिनु योहान्नन रहेका छन् ।
यस्तै अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवन राईनोजमा डेभिड मलान, सोहेल तनवीर, रवि बोपारा, सैफ अलि जैब जस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन् । यसअघिको खेलमा कर्णालीलाई हराउन प्लेयर अफ दी म्याच रवी भोपाराले ३२ बलमा ५१ रन बनाएका थिए भने जैबले मात्र १५ बलमा ३८ रन जोडेका थिए । उनीहरुले एक एक विकेट पनि लिएका थिए । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद दीपक बोहोरा, रिजन ढकाल, कमलसिंह ऐरीलगायत खेलाडी छन् । पूर्व राष्ट्रिय टीमका बलर कलाम अलीको नेतृत्वमा रहेको यो टोली निकै सन्तुलित देखिएको छ । यो टोलीले दोस्रो खेलमा पनि जीत हात पार्न सक्छ वा लुम्बिनीेले बाजी मार्छ त्यो भने हेर्न बाँकी नै छ ।