काठमाडौँ। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश उल्लंघन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका नेता–कार्यकर्ता र जेन जेड युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ ।
तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।
सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।
स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।
बुधबार बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेन जेड अगुवा सम्राट् उपाध्यायमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो।