नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बुधबार काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन्। खेल त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे शुरु हुने यो खेलमा काठमान्डु लगातार दोस्रो जीत निकाल्न चाहन्छ भने गत सिजनको उपविजेता सुदुरपश्चिम विजयी शुरुवात गर्न । काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै आफू बलियो रहेको संकेत गरिसकेको छ भने सुदुरपश्चिमलाई आफू पनि कम नरहेको प्रमाणित गर्नुपर्ने छ ।
करण केसीको कप्तानिमा रहेको काठमान्डुका लागि पहिलो खेलमा मिलिन्द कुमारले अलराउन्ड प्रदर्शन गरेका थिए । प्लेअर अफ दी म्याच बनेका उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिए भने १९ रन पनि बनाएका थिए । यस्तै बेन चार्लस्वर्थ र आकाश त्रिपाठीले राम्रो ब्याटिङ गरेका थिए । बेनले २३ बलमा ४६ रन बनाए भने आकाशले ३९ रनको योगदान गरे । यो टिमका थप खेलाडीमा सन्नी पटेल, जेरार्ड इरासमस, जोन सिम्पसन, मोहम्मद आदिल आलम, शाहब आलम, दीपेश कँडेल, राशिद खान, भीम सार्की, रिकार्डो भास्कोनसेलोस लगायत छन्। काठमान्डू गोर्खाजको प्रशिक्षकमा मोन्टी देशाई छन्।
यसैगरी दीपेन्द्रसिह ऐरी कप्तान र जगत टमाटा प्रशिक्षक रहेको सुदुरपश्चिम रोयल्सको नयाँ टोलीले कस्तो खेल्छ भन्ने खसखस धेरैलाई छ । सिजनको आफ्नो पहिलो खेल भएकाले पनि सुदुरपश्चिमको तयारी र खेलाडीको तालमेल कस्तो हुने हो भन्ने लाग्ने नै भयो ।
यो टोलीलाई गत वर्ष फाइनल पुर्याउन उत्कृष्ट खेल खेलका सैब जैब यसपटक टोलीमा छैनन् । तर क्रिस लिन, जोस ब्राउन, स्कट कुगेइलिन, हर्मीत सिंह जस्ता विदेशी खेलाडी रहेका छन् । यस्तै नेपालका विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, हेमन्त धामी, ईशान पाण्डे, नरेन साउद हिम्मत महरा लगायत खेलाडीको साथ पाएको सुदुरपश्चिमले राम्रो खेल्ने अपेक्षा गरिएको छ ।
अपराह्न ४ बजेपछि हुने खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।