चितवन । यहाँका किसानले आलु खेतीका लागि नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । पूर्वी चितवनको खैरहनीमा किसानले भारतबाट आलु लगाउने औजार ल्याएर रोप्न थालेका छन् । विगत लामो समयदेखि आलु खेती गर्दै आएका खैरहनी नगरपालिका-१० का कृष्ण अर्याल भारतबाट उपकरण झिकाएर आलु रोपेको जानकारी दिए।
उनले भने, “खर्च कम आउने, पानी लगाउन सजिलो हुने र आकर्षक देखिने भएकाले यो औजार मगाएका हौँ ।” सुरुआतमा यसको प्रभावकारिता हेर्ने भनेर ल्याइएको भए पनि अहिले आलु खेती गर्ने किसानले यही राख्ने योजनामा रहेको उनले बताए।
आलुको बीउ रोप्न र खन्न यसले सहज हुने गरेको उनले जानकारी दिए। किसान अर्यालले हरेक वर्ष पाँच बिघा क्षेत्रफलमा आलु खेती गर्दै आएका छन् । उनका अनुसार मजदुर लगाउँदा एक कठ्ठामा रु एक हजार खर्च आउने गर्दथ्यो । अहिले यो औजारले एक बिघा ६ कठ्ठा (२६ कठ्ठा) रोप्नका लागि तीन घण्टा लागेको उनले सुनाए ।
सो क्षेत्रफलमा आलु रोप्दा तीन घण्टाको रु ६ हजार ६ सयमा आलु रोपिएको उनले जानकारी दिए। खैरहनीमानै आलु खेती गर्दै आएका किरण आचार्य, मधु उप्रेती, दिपेन्द्र आचार्य, सीताराम अर्याल, रत्ननगरमा आलु खेती गर्दै आएको मधुर नेपाल लगायतका किसानले प्रविधिको प्रयोग गरेर आलु रोपिसकेका छन् ।
किसान आर्यालले भने, “उपकरण केही ढिला गरेर आउँदा सबै किसानले यसको प्रयोग गर्न पाएनन् । आगामी याममा सबैले यसको प्रयोग गर्ने छन् ।” यस उपकरणले चारवटा लाइनमा मल र बीउ एकै पटक खसाल्ने गरेको अर्का किसान सीतारमा अर्यालले जानकारी दिए ।
यसले एक पटकमा चार क्वीन्टल बीउ र एक क्वीन्टल मल बोकेर रोप्ने गर्दछ । यसका लागि ४० देखि ५० ग्रामका एकनासे आलुका बीउ हुँदा रोप्न सजिलो हुने उनले बताए। ठूला गरामा यसको प्रयोग गर्दा छिटो हुने गरेको किसानले बताएका छन् । यो औजारको प्रयोगले आलु खेती गर्ने किसानलाई सहज बनाएको छ ।
अहिले आलु लगाउने मुख्य मौसमको रूपमा रहेको छ । केही समय अघि लगाएर उम्रने समयमा आएको बेमौसमी वर्षातका कारण यस क्षेत्रका किसानले क्षति व्यहोर्नु परेको छ । बेमौसमी वर्षात्का कारण यहाँ लगाइएको आलुको बीउ कुहिएको थियो । कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लाको ९७ दशमलव ७ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको बीउ कुहिएको छ ।
एक हेक्टर क्षेत्रफलमा दुई हजार किलो आलुको बीउ प्रयोग हुने गर्दछ । उनले भने, “आलुको बीउ कुहिएसँगै किसानले बीउ नपाउने र मूल्य नपाउन सक्ने जनाउँदै खेती परिवर्तन गर्न थालेका छन् ।” जिल्लामा एक हजार ९९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको छ । अहिले वर्षातका कारण बीउ उम्रने समयमा कुहिएपछि केही क्षेत्रफल घट्न सक्ने कार्यालयले जनाएको छ ।
किसानले उत्पादनपछि बजार मूल्य नपाउने हो की भन्ने डरले आलु लगाउने जग्गामा राजमा, सिमी जस्ता बाली लगाउन थालेको उनले जानकारी दिए। जिल्लामा विशेषगरी खैरहनी नगरपालिका, राप्ती नगरपालिका, रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिका र माडी नगरपालिकामा आलु खेती हुने गरेको छ ।
प्रति किलो रु ६० मा किनेर लगाएको आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । पुनः लगाउनका लागि आलुको बीउ पाउनसमेत कठिन भएको छ । चौहानले भने, “कतिपयले बीउ कुहिए पनि पुनः आलु खेती नै गरेका छन् भने कतिपयले खेती परिवर्तन गरेका छन् ।”