काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेन जेडका नाममा ज्ञापन पत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको दाबी गरेका छन् ।
गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले सरकारमा रहेकाहरूले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको आरोप लगाए । ओलीले विभिन्न नामका जेन जेड समूह खडा गरेर सरकारले तमासा देखाएको जिकिर गरेका छन् ।
ओलीले भने, ‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ । त्यसका निम्ति जेन जेड हरूलाई संगठित गर्ने, ज्यानजीहरूका माग पत्र लेखिदिने, उनीहरूलाई बोलाएर माग पत्र पढाउने, हातमा माग पत्र थमाउने, जेन जेडको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि ज्यानजीले सरकारलाई दबाब दिए ल के गरौँ ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ । जेन जेडहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ । मलाई थाहा छ त्यो जेन जेडको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ । बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ ।
ओलीले प्रतिनिधिसभा अविलम्ब पुनर्स्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए । अहिले पनि जेन जेड भनेर १०र२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्याउने भन्दै भन्न लगाइएको ओलीले बताए ।
उनले भने, उनीहरूमा आवेश र उत्तेजना मात्र छ । गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन । सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन । ड्रामातिर लागेको छ ।
अवकाशलगत्तै निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङलाई स्थान हद तोकिएको विषयमा पनि ओलीले आपत्ति जनाए । पूर्व प्रधानमन्त्री ओलीले अहिलेको आइजिपीलाई तर्साउन निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थान हदको प्रचार गरिएको आरोप लगाए ।
उनले भने, ‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ । आज कतै पनि जान नपाउनु योभन्दा ठुलो मजाक र तमासा के हुन्छ ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको ? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ?’
उनले आफू सत्य कुरा गर्ने र जीवनभर लडिरहने भन्दै कसैले यसलाई दम्भ भन्छ भने यो घट्नेवाला छैन, देश बनाउने उद्देश्यमा कमी आउने छैन भनी जवाफ दिए ।