काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै त्यसका लागि ध्रुवीकरण हुन आवश्यक रहेको बताए ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य तबस्सुम परविन मिकरानीलाई पार्टीमा स्वागत गर्दै सहसंयोजक नेपालले मुलुकमा भएका सबै राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्नेमा जोड दिए ।
पूर्व प्रधानमन्त्री नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखा परेको संकट समाधान गर्ने सामर्थ्य कम्युनिष्ट आदर्शमा हुने विचार व्यक्त गरे । समान विचारधारा भएका दल तथा समूहसँग पनि एकताको गृहकार्य भइरहेको बताउँदै उनले शक्ति तथा संगठन बिस्तारका लागि वैचारिक दृष्टिकोण तथा दीर्घकालीन कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।