गोरखा । गोरखामा अपांगता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज गोरखा नगरपालिका-३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठलाई सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
श्रेष्ठ जन्मजात सामान्य हिँडडुलसमेत गर्न नसक्ने, बोल्न नसक्ने अवस्था रहेकाले घरमै पुगेर नागरिकता उपलब्ध गराइएको सहायक प्रजिअ बरालले जानकारी दिए । “नागरिकता प्रदान गर्न आवश्यक सबै कागजात पूरा गरेर श्रेष्ठलाई घरमै नागरिकता उपलब्ध गराइएको हो”, उनले भने ।
नागरिकता प्रदान गर्न गोरखा नगरपालिका वडा नं ३ का वडाध्यक्ष चुलबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चुडानिधि तिवारीसहितको टोली श्रेष्ठको घरमा पुगेका थिए । नागरिकता प्राप्त भएसँगै उनले अबदेखि सामाजिक सुरक्षा भत्ता, अन्य सरकारी सेवा सुविधा सहजै लिन पाउने सहायक प्रजिअ बरालले बताए। घरमै प्रशासनले आएर नागरिकता उपलब्ध गराएपछि श्रेष्ठको परिवार खुसी भएका थिए ।