काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो सिजनलाई लक्षित गर्दै पोखरा एभेन्जर्सले ठूलो खेलाडी हस्ताक्षर गरेको छ। इंग्ल्यान्डका आक्रामक ओपनर जेसन रोयलाई अनुबन्ध गर्दै पोखराले आफ्नो ब्याटिङ लाइनअपलाई अझ सबल बनाएको छ। रोयको विस्फोटक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय स्तरको अनुभवले टिमको शीर्षक्रमलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
रोय टी–२० फर्म्याटमा विश्वकै चर्चित नाममध्ये एक मानिन्छन्। आईपीएल, द हन्ड्रेड, बिग ब्यासलगायत विभिन्न फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गरिसकेका रोयले एनपीएलमा पनि प्रभावशाली खेल प्रस्तुत गर्ने विश्वास पोखराले लिएको छ।
यसअघि नै पोखराले न्युजिल्यान्डका स्टार अलराउन्डर जिम्मी निशम, वेष्ट इन्डिजका रेमन राइफर, इंग्ल्यान्डका एडम रोसिंगटन तथा वेल्सका ड्यान डाउथवेटलाई अनुबन्ध गरिसकेको छ। लगातार उच्चस्तरीय विदेशी खेलाडी भित्र्याउँदै आएको पोखरा एभेन्जर्स यस सिजनको बलियो टाइटल दाबेदारका रूपमा हेरिएको छ।
क्लब व्यवस्थापनका अनुसार रोयको आगमनले टोलीको ब्याटिङ शक्ति मात्र होइन, समग्र टोली संयोजनमै ठूलो प्रभाव पार्नेछ। एनपीएल २०२५ मंसिर १ गतेदेखि सुरु हुँदैछ र पोखराबाट आगामी दिनमा थप तयारीबारे जानकारी सार्वजनिक गर्ने जनाइएको छ।