चितवन । नेपाल प्रिमियर लिग (NPL) २०२५ को दोस्रो सिजन हेर्न काठमाडौँ जान चाहने चितवनका समर्थकका लागि चितवन राइनोजले जाने–आउने नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। घरेलु समर्थनलाई अझ प्रभावकारी बनाउन र क्लबप्रति समर्पण देखाउने प्रशंसकलाई सहजता प्रदान गर्न यो कदम चालिएको क्लबले जनाएको छ।
क्लबका अनुसार बस सेवा पूर्वनिर्धारित स्थान र समयबाट प्रस्थान गर्नेछ। यात्रामा सहभागी हुने समर्थकहरूले खेलको टिकट र आधिकारिक जर्सी अनिवार्य रूपमा लगाउनु पर्नेछ। क्लबले यो व्यवस्थाले दर्शकलाई मैदानसम्म पुर्याउन मात्र होइन, टोलीलाई मनोबल दिने वातावरण बनाउने विश्वास व्यक्त गरेको छ।
चितवन राइनोजले समर्थकलाई खेलकुद संस्कृतिको अभिन्न हिस्सा मान्दै दिएको यो सुविधा समुदाय–क्लब सम्बन्ध अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ। प्रशंसकहरूको सक्रिय सहभागिताले टोलीलाई मैदानभित्र थप ऊर्जा मिल्ने क्लबको भनाइ छ। बसको समय, सम्पर्क व्यक्ति र व्यवस्थासम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने बताइएको छ।