काठमाडौँ । नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरू जिल्ला जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ’ गौतमले भने ।
गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज जिल्लाहरू जनसभा हुँदैछन् । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन्।