काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई अनिवार्य परिचयपत्र र पोसाक लगाउनुपर्ने विषयमा कडाइ गरेको छ ।
कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई परिचयपत्र र पोसाक लगाउनुपर्ने विषय कार्यान्वयनका लागि पत्राचार गरेको छ ।
दूरसञ्चार विज्ञ विशाल उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्स तथा सम्बन्धित कर्मचारीका लागि अनिवार्य एयरलाइन्सको पोसाक र परिचयपत्र प्रणाली कार्यान्वयन गर्नुपर्ने मागसहित मुख्यसचिवलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराएका थिए ।
उनको निवेदन उपर कारबाही गर्दै अनिवार्य पोसाक तथा परिचयपत्र कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले लेखिपठाएको हो ।