न्युजिल्यान्डका अनुभवी अलराउण्डर जिम्मी निसम आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेर दोस्रो सिजनमा पुनः एनपीएल मैदानमा देखिने भएका छन्। पोखरा एभेन्जर्सले निसमलाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो। पहिलो सिजनमा जनकपुर बोल्ट्सको जर्सीमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका निसमले यसपटक नयाँ फ्रेन्चाइज रोजेका छन्।
३५ वर्षका निसम टेस्ट राष्ट्रका ठूला नाममध्ये मानिन्छन्। उनी एनपीएल २०२५ का लागि अनुबन्ध भएका न्युजिल्यान्डका तेस्रो खेलाडी हुन्। यसअघि विराटनगर किंग्सले मार्टिन गप्टिल र सुदूरपश्चिम रोयल्सले स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेका छन्। तीनै खेलाडी दोस्रो सिजन पनि लिगमा निरन्तर सहभागी हुँदैछन्, जसमा निसम मात्र टिम परिवर्तन गर्दै पोखरा पुगेका हुन्।
निसमले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ ओडीआई र ९३ टी–२० आई खेलेका छन्। उनले टी–२० आईमा १०१० रन बनाउनुका साथै ५६ विकेट लिएका छन्। विश्वका प्रमुख टी–२० लिग—आईपीएल, भाइटालिटी ब्लास्ट, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग लगायतमा उनले महत्वपूर्ण भूमिकासहित लामो अनुभव बटुलेका छन्।
उनको आगमनले पोखरा एभेन्जर्सको ब्याटिङ र बलिङ दुवै पंक्ति सुदृढ हुने विश्वास गरिएको छ।