काठमाडौँ । दल दर्ताका लागि तीन महिनाअघि नै निर्वाचन आयोगमा पेश भएको ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जा मन्त्री कुलमान घिसिङले स्वामित्व लिने भएका छन् ।
यसअघि ज्ञानबहादुर तामाङ अध्यक्ष रहने गरी निवेदन पेश भएकोमा त्यसलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई प्रस्ताव गरिएको छ ।
गत साउन २७ मा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुगेकाले दल दर्ता भएको थिएन । आयोगका अनुसार अनुसूची ३ लगायतको विवरण पेश नभएकाले दर्ता नगरिएको हो । सोही निवेदनमा संशोधन गरेर कुलमानको टिमले पार्टी गठन गर्न लागेको छ । प्रस्तावित उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक बसेर उपाध्यायलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
पहिल्यैको निवेदनमा दलको निर्वाचन चिन्ह बलेको चिम माग गरिएको छ । मंगलवार अद्यावधिक विवरण पेश गर्दा केन्द्रीय समितिमा यसअघि अध्यक्ष प्रस्ताव गरिएका तामाङसहित ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको अगुवाइमा गरिएको भए पनि दलको कुनै पदमा उनी रहने छैनन् । केन्द्रीय समितिमा को-को छन् भन्ने पनि खुलाइएको छैन ।
यसैबीच आयोगमा मंगलवार थप २ वटा दल दर्ताका लागि निवेदन पेश भएको छ । जसमा रमणकुमार कर्ण अध्यक्ष रहने गरी जनादेश पार्टी नेपाल र निर्वाचन चिन्ह एक हातले समातेको माइक प्रस्ताव गरिएको छ । यस्तै, प्रशान्त सिंह अध्यक्ष रहने गरी पिपुल फर्स्ट पार्टी र निर्वाचन चिन्ह विजयको प्रतीक चिन्ह प्रस्ताव गरिएको छ ।