काठमाडौँ । दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन् ।
शनिबार ९कात्तिक २२० त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौडमा भण्डारी ५३ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै प्रथम भएका हुन् । दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए । पन्तले ५४ मिनेट ४६ सेकेन्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे ।
महिलातर्फ पाँच किलोमिटर दौडमा प्रथम भएकी सापकोटाले ३२ मिनेट नौ सेकेन्डमा दूरी पार गरिन् । शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो भए । कटुवालले ३३ मिनेट ३९ सेकेन्डमा उक्त दूरी पार गरिन् । निर्धारित दूरी पार गर्न राईले ३५ मिनेट ४९ सेकेन्ड लगाइन् ।
विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले मेडल प्रदान गरे । प्रतियोगितामा पुरुष र महिला समूहतर्फ प्रथम भएका भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार प्रदान गरियो ।