काठमाडौँ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजबाट पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।
केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्ने छन् ।
गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।
सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ ।