म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु ६२ करोड बजेट विनियोजन गरेको छ ।
क्रमागत १७ योजनाका लागि रु ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिए ।
यसअघिका वर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण व्यवसायीहरू बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भइरहेको उनले बताए ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १ (ख) का १८ योजनाका लागि रु. ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १ (क) का १४ योजनाका लागि रु. १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ ।
संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट विनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठुलो योजना हो ।
बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि रु। एकरएक करोड बजेट विनियोजन भएको छ ।
म्याग्दी १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन) ले धवलागिरि गाउँपालिका–१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु ५० लाख विनियोजन भएको जानकारी दिए । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उनले बताए ।
मङ्गला गाउँपालिका–१ को तुसारेपानी–कुहुँ, गैराखेत–मालिका मन्दिर र दरवाङ–लामेला–अल्काचौर, दूधखोला–तोलावाङ र सराग्दी सडकका लागि रु। ५०/५० लाख र मालिका गाँउपालिकाको खतेन–ओखरबोट झोलुङ्गे पुललाई रु. ३० लाख बजेट विनियोजन भएको छ ।
घारखोला–नेपाने र तिप्ल्याङ–बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा–२ र बगैचा रानीपौवा रिसिन चौतारी हुँदै बेगखोला जोड्ने सडक र रघुगङ्गा –१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु. ५०/५० लाख बजेट विनियोजन भएको म्याग्दी १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । ग्रामीण सडकहरूलाई ग्राभेल, ढलान र कालोपत्रे गरेर स्तरोन्नति गर्न योजनाहरू सञ्चालन भएको उनले बताए । सडक स्तरोन्नति भएपछि ग्रामीण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाइसराइ घट्ने अपेक्षा गरिएको छ ।
अन्नपूर्ण–५ पाउद्वाररदेखि कुरिलाबगर हुँदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा–भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा– हुँदै ठारा, भगवती–डाडाबारी–पिप्ले एकघरे सडक, कोटगाउँ–रायखोर– घ्यासीखर्क र पाखापानी– कालावाङ –ठाडाखानी र ठूलोगैरा – खबरा– बन्चरेढुंगा–भकुण्डे र आनन्दबगर– लामबगर – ढोडेनी सडकका लागि रु. ५०/५० लाख बजेट विनियोजन भएको छ ।
बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल, रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १ (ख) का क्रमागत बहुबर्षीय योजनाहरू हुन् ।
निर्वाचन क्षेत्र १ (क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट –दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवती, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवती–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधीन छन् ।