काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन् ।
चितवनको सौराहामा शुक्रवारबाट सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरेका हुन् ।
संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको बताउँदै उनले अब घनिभूत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने बताए ।
विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित पार्नुपर्ने पनि उनको भनाइ थियो ।
‘संघीय निर्वाचन घोषणा भइसकेको छ । त्यसको तयारी पनि हामीले अब घनिभूत ढंगले गर्नुपर्नेछ । १ सय २० दिन भन्दा कम छ,’ उनले भने, ‘त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ, प्रेरणा दिनु छ । अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।’
आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन पनि उनले दिए ।