काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेनजेड आन्दोलनका क्रममा भएको आगजनीपश्चात् सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको थियो ।
सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटजस्ता घटनाबाट बचेका मुद्दा तथा अवरुद्ध सबै सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अदालतले जारी गरेको सूचनामा भनिएको छ, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेका हुँदा पेसी तारेख तोकिएका ती मुद्दाहरूको २०८२ मङ्सिर १ गतेपछि तोकिएको मितिअनुसार नियमित सुनुवाइ हुनेछ । अन्य पेसी नचढेका मुद्दाहरूको सुनुवाइ कानुनअनुसार अङ्ग पु¥याई गरिनेछ । यस सम्बन्धमा सरोकारवाला पक्षलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।”
बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदन पत्र, दोहोर्याई पाउँ भन्ने निवेदन तथा पुनरावलोकन निवेदनसहितका सबै प्रकारका मुद्दा र निवेदनहरू दर्ता एवं सुनुवाइ गर्ने निर्णय पनि गरेको छ ।