काठमाडौँ मनोरञ्जनसहित राष्ट्रिय एकता र गौरवको भावना जगाउने उदेश्यले आगामी सनिबार सेलेब्रिटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’ हुने भएको छ।
पाकिस्तान दूतावासकाे क्रिकेट मैदान, धुम्बाराहीमा उत्सव हुन लागेको हो। भिएस नेटवर्कको आयोजनामा हुने २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी हुने जनाइएको छ।
आयोजकका अनुसार ‘क्रिकेट उत्सव ०२५’ को उद्देश्य मनोरञ्जनमार्फत नेपाली क्रिकेटको विकासमा समर्थन गर्नु हो।
‘क्रिकेट उत्सव खेल मात्र होइन। यो एकता, मनोरञ्जन र नेपाली क्रिकेटको अजेय उत्थानको उत्सव हो। सँगै आएर हामी खेल मात्र खेल्दैनौँ, नेपालमा क्रिकेटको भविष्य निर्माण गर्दै छौँ,’ आयोजकको भनाइ छ।
उत्सवमा कलाकार सुनील थापा, कवि विप्लव प्रतीक, आनन्द कार्की, प्रमोद खरेल, कलाकार राजाराजेन्द्र पोखरेल, मास्टर शेफ सन्तोष शाह, सञ्चारकर्मी सुशील नेपाल, विवेकसिंह ठकुरी, विवेक खतिवडालगायतको सहभागिता रहने आयोजकको भनाइ छ।
कार्यक्रममा लाइभ कमेन्ट्री, हाफटाइम सेलेब्रिटी डान्स मेड्ले, फ्यान जोनलगायत विभिन्न कार्यक्रम हुनेछन्।