काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी आगामी निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
द एसियन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल) का प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन गराउने तयारी तीव्र पारिएको जानकारी दिइन् ।
आन्फ्रेल थाइल्यान्डको बैंककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक सञ्जाल हो। सो सञ्जालका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वमा आएको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकनका लागि काठमाडौँमा छ।
प्रतिनिधिमण्डलका सदस्यहरूले लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रूपमा काम गर्नुभएका व्यक्तिको नेतृत्वमा रहेको सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
“तपाईँको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनर्संरचना सम्भव देखाएका छौँ, जसले लोकतान्त्रिक संस्थाहरू सुदृढ हुनेछ,” उनीहरूले भने।
प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको चासोलाई स्वागत गर्दै भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो, र हामी त्यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचन वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकहरूको भूमिकासमेत महत्त्वपूर्ण छ। तपाईँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ।”
आन्फ्रेलका प्रतिनिधिहरूसँगै नेपालका निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल ‘नियोक’ का पदाधिकारी र सदस्यहरू पनि उपस्थित थिए। उनीहरूले पहिलो पटक मतदान गर्न पाउने युवा मतदातामा देखिएको उत्साहलाई सुदृढ बनाउन मतदाता शिक्षामा विशेष जोड दिन सुझाव दिएका छन्।
सरकारले तोकिएको मितिअनुसार आगामी फागुन २१ गते हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन तयारी तीव्र पारेको छ।