काठमाडौँ। आइसीसी विश्वकप लिग-२ अन्तरगतको खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो ।
बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुई वटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए । यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए ।
दसौँ नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए ।
युएईका जुनैद सिद्धिकी र ध्रुव परासरले दुई-दुई विकेट लिए ।