काठमाडौँ- वि.पी. राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच आज अनुदान सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो।
महोत्तरीको बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाइ भएको वि.पी. राजमार्ग नेपालको महत्वपूर्ण राष्ट्रिय मार्ग हो, जसको निर्माण पनि जापानको अनुदान सहयोगमै सम्पन्न भएको थियो। गत वर्षको बाढी र पहिरोका कारण राजमार्गका धेरै भागहरू, विशेष गरी रोशी नदी आसपासका क्षेत्र, गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए।
जापान सरकारले ती क्षतिग्रस्त भागहरूको पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ।
सम्झौताअनुसार अनुदान सहायतासम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानका राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरे। त्यसैगरी, अनुदान सम्झौतामा नेपालका सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच हस्ताक्षर भयो।
समारोहपछि आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले जापानलाई नेपालको “विश्वसनीय र भरोसायोग्य विकास साझेदार” भन्दै आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणमा जापानले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले हालको सहयोगले नेपाल–जापान मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी, जापानी राजदूत माएदाले यो सहयोगले वि।पी। राजमार्गका क्षतिग्रस्त भागहरू पुन:स्थापना गर्न सहयोग पुग्ने बताउँदै नेपाल–जापानबीचको दशकौं पुरानो मित्रतापूर्ण सम्बन्धलाई स्मरण गरे।
समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौंस्थित जापान दूतावास र जाइकाका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।