
काठमाडौं – देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवापलायनको बीच जन आन्दोलन २०८२ समन्वय संघर्ष समितिले आज ‘नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशा’ शीर्षकको प्रस्ताव सार्वजनिक गरेको छ।
समितिले राष्ट्र नयाँ युगमा प्रवेश गर्दैछ भन्दै सर्वपक्षीय छलफल र पाँच आधारस्तम्भमा आधारित ठोस सुधारको आवश्यकतामा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलहरूको स्वार्थ केन्द्रित प्रवृत्ति, भ्रष्टाचार र दण्डहीनताले जनताको विश्वास संकटमा पारेको छ। अब राष्ट्रको पुनर्जागरण अपरिहार्य छ।”
प्रस्तावअनुसार, नेपाल अहिले दीर्घकालीन अस्थिरता, आर्थिक असमानता र वैचारिक दिशाहीनताको गहिरो संकटमा छ। विगतका आन्दोलनका उपलब्धिहरू संस्थागत हुन नसक्दा जनतामा राज्यप्रतिको विश्वास कमजोर भएको भन्दै, सबै राजनीतिक शक्तिहरूलाई तत्काल व्यावहारिक र दूरगामी समाधान खोज्न एकताबद्ध हुन आग्रह गरिएको छ।
समितिले यस प्रस्तावमार्फत राष्ट्रिय पुनर्जागरण, विचारगत स्पष्टता र प्रणालीगत शुद्धीकरण नै देशको वर्तमान आवश्यकता भएको बताएका छन्।