काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि भोलि मंगलबारदेखि किसानसँग धान खरिद गर्दै छ । कम्पनीले यस वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद तोकेको छ । यसका लागि कम्पनीले ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कम्पनीले धान खरिदका लागि १३ वटा केन्द्रहरू सञ्चालन गर्ने भएको छ । यी खरिद केन्द्रहरू धान उत्पादनका प्रमुख क्षेत्रहरूलाई ध्यानमा राखेर तोकिएका हुन् । महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, वीरगञ्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडमा यी केन्द्रहरू रहनेछन् ।
यी स्थानमा आवश्यकता र बजार अवस्था हेरी खरिद कोटा बढाउन सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले भोलि सुदूरपश्चिमको कैलालीबाट धान खरिद सुरु गर्ने जनाएको छ । जुन क्रमश: कञ्चनपुर, बर्दिया हुँदै पूर्वतर्फ विस्तार हुनेछ ।