काठमाडौँ । दसैँ र तिहारजस्ता ठुला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ । कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गर्दछ ।
कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए।
कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको दार्चुलाको लेकमका नरेन्द्र रावलले बताएका छन् ।
कार्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती, बाह्र ज्योर्तिलिंगमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मौलेली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती, जगन्नाथ, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायत मन्दिरहरूमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ ।
यस्तै दार्चुलामा रहेको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा जात्रा लाग्ने गर्दछ । लटिनाथ मन्दिर बन्तोलीमा कार्तिक शुक्ल द्वितीयाको राति जात्रा लागिसकेको छ । यस्तै, डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।
डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरूले बताएका छन् । त्रिपुरा सुन्दरी भगवती, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मौलेली भगवती, फाल्ङासैनी भगवती, उग्रतारालगायत मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ र गणमेश्वर मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । यहाँ लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन् ।
बैतडीको त्रिपुरा सुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका स्थानीय नरेन्द्र थापाले बताएका छन् ।
जात्राकै लागि भनेर कैलाली कञ्चनपुरमा बसाइँ सरेकाहरू पनि जाने गरेका छन् । देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक, आत्मीयता र भ्रातृत्वको भावना बढाउने विश्वास गरिएको छ ।