काठमाडौँ- भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ ।
दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट सङ्घले जनाएको छ । सङ्घका अनुसार पहिलो संस्करणको उक्त च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलङ्कामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलङ्का र इङ्ल्यान्डको सहभागिता रहनेछ ।
आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । उक्त खेल नोभेम्बर १२ तारिखमा हुनेछ । त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ ।
नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्याण्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछ । त्यसपछि नेपाली टोली श्रीलङ्का पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलङ्काको कोलम्बोमा हुने जनाएको छ ।