
काठमाडौँ। हामी नेपालका संयोजक सुदन गुरुङले जेनजीहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्।
बिहीबार माइतीघरमण्डलमा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले जेनजीहरूलाई विभाजित गर्ने प्रयासमा पुराना राजनीतिक दलहरू लागेको आरोप लगाए।
‘जेनजीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौँ,’ गुरुङले भने, ‘जेनजीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।’
जेनजीको एकता बिथोलेर नेताहरूले जेनजी भन्दा त काँग्रेसै ठिक, एमाले नै ठिक हो भन्ने बनाउन खोजिरहेको जिकिर गरे। ‘अब नेपाली नागरिक भएर सोचौँ। एउटै झण्डा मुनि मात्रै बसौँ र देश विकास गरौँ,’ उनले भने ।
पाइला चाल्नुअघि आफूहरूले हरेक मुभको हिसाबकिताब गरिरहेको उनको भनाइ थियो। ‘अहिले हामी (जेनजीहरू)लाई छुट्याउनको लागि त नेपालीहरूलाई नै छुटाउनुपर्यो। त्यो तागत उनीहरूसँग छैन,’ उनले थपे।
जेनजी अगुवाहरूमध्ये को राम्रो, को नराम्रो भन्ने भाष्य बनाउने काममा नेताहरू लागेको उल्लेख गर्दै उनले आक्रोश पोखे, ‘नराम्रो त्यो नेताहरू हो। अहिलेको समयसम्म देश बिगार्ने नेताहरू हो।’
अहिलेसम्म त्यस्ता नेता नचिनेर नागरिकले तिनलाई भोट हालिरहेको बताएका गुरुङले अब नागरिकले आफ्नो सोच परिवर्तन गर्नु पर्ने बताए। त्यसपछि मात्र समाज परिवर्तन हुने उनको भनाइ छ।