
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।
बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी गरी ‘प्रचण्ड’ले राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा आफूहरू रहेको बताएका हुन् ।
‘आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ । लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ । लोकतन्त्रको अग्रगामी ’सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन,’ प्रचण्डले भनेका छन् ।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको पनि स्मरण गरेका छन् ।
‘त्यस निर्णयलाई थप संस्थागत गर्दै वि।सं। २०८० मा नेपाल सरकारका सबै दस्ताबेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गर्न चाहन्छु,’ उनले भनेका छन् ।
‘यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ,’ प्रचण्डले भनेका छन् ।