
काठमाडौँ । युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरेको छ । २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सोमबार लक्जमबर्गमा आयोजित इयुका ऊर्जा मन्त्रीहरूको बैठकमा उक्त निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार इयुका लगभग सबै सदस्य देशहरूले युरोपेली आयोगको प्रस्तावलाई समर्थन गरेका छन् ।
यो प्रस्ताव युरोपलाई ऊर्जामा आत्मनिर्भर बनाउने दिशामा निर्णायक कदम भएको इयु परिषद्को अध्यक्षता गर्ने डेनमार्कका ऊर्जा मन्त्री लार्स अगार्डले बताए । यद्यपि, हंगेरीका विदेश मन्त्री पिटर सिज्जार्टोले उक्त प्रस्तावको विरोध जनाउँदै यसले युरोपेली मुलुकहरूको ऊर्जा सुरक्षामा गम्भीर संकट निम्त्याउने बताए ।
यो प्रतिबन्ध पाइपलाइनमार्फत आयात गरिने तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) दुवैमा लागू हुनेछ । २०२६ को जनवरी १देखि रुसी ग्यासको आयात बन्द हुनेछ । तर पहिलादेखि नै चलिरहेको छोटो अवधिका सम्झौताहरूलाई २०२६ को जुनसम्म छुट दिइनेछ । दीर्घकालीन सम्झौताहरू भने २०२८ सम्म जारी रहन सक्ने भनिएको छ ।
रूस-युक्रेन युद्ध सुरु भएयता रुसले ग्यास आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरेको अनि आपूर्तिमा बारम्बार अवरोध आएपछि इयुले यो कदम चालेको हो ।
हाल युरोपेली संघमा रुसबाट करिब १३ प्रतिशत प्राकृतिक ग्यास आयात हुने गरेको छ, जसको वार्षिक मूल्य लगभग १५ अर्ब युरो (अन्दाजी १७.५ अर्ब अमेरिकी डलर) बराबर छ ।