
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा एमाले जिल्ला कमिटी ललितपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘अब एमाले मात्रै एक भएर पुग्दैन, सिंगो लोकतान्त्रिक शक्ति मिलाएर अघि बढ्नुपर्छ ।’
महासचिव पोखरेलले भदौ २३ र २४ का घटनाहरू अकल्पनीय भएको भन्दै ती घटनाका पछाडि विदेशी शक्ति, राजावादी, माओवादी, समाजवादी, स्वतन्त्र भनिने समूह र रास्वपाको मिलेमतो रहेको बताए । उनका अनुसार यी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि योजनाबद्ध घेराबन्दी गरिरहेका छन् ।
उनले भने, ‘बदलिँदो ट्रेन्ड हामीले बुझेका हौँ, तर जति गम्भीर हुनुपर्ने हो त्यो हुन सकेन । देशलाई प्रतिगमनतर्फ लैजाने कुप्रयास भइरहेका छन्, त्यसका विरुद्ध सचेत हुनुपर्छ ।’
पोखरेलले पार्टी र कार्यकर्तालाई गाउँ गाउँ र घरघरमा पुगेर एमालेको योगदान जनतासमक्ष पुर्याउन आग्रह गरे । उनले नाकाबन्दी, चुच्चे नक्सा जारी, सीमा विवादमा दृढ उपस्थिति, अन्तर्राष्ट्रिय फोरममा नेपालको पक्षमा हिम्मतका साथ उभिनु र पूर्वाधार विकासमा पार्टी नेतृत्वको भूमिकालाई जनताले सम्झनुपर्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपालको नेतृत्वमा देउसी-भैलो प्रदर्शन गरिएको थियो ।
त्यस अवसरमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई , केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, रूपनारायण श्रेष्ठ, बाबुराम थापा, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जन, बाग्मती प्रदेशका कृषि मन्त्री मधुसूदन पौडेल, एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र प्रेस चौतारी ललितपुरका अध्यक्ष नवीन लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तिहारको अवसरमा एक अर्कालाई शुभकामना आदान-प्रदान समेत गरिएको थियो ।