
काठमाडौँ । सार्वजनिक सम्पत्ति र भवनहरू जोगाउन नसकेको आरोप लागेपछि नेपाली सेनाका केही कमाण्डरमाथि छानबिन सुरु गरिएको छ। जेन जेड आन्दोलनका क्रममा २४ गते सिंहदरवारलगायतका संवेदनशील क्षेत्रहरूमा खटिएका ती कमाण्डरहरूलाई सैनिक मुख्यालयले फिर्ता बोलाएको हो।
सैनिक स्रोतका अनुसार घटनाको विवरण बुझ्नका लागि सिंहदरवार र अन्य महत्वपूर्ण स्थलमा जिम्मेवारी पाएका दुई-तीन जना कमाण्डरलाई हेडक्वार्टर्समा झिकाइएको हो। उनीहरूमाथि सोधपुछ तथा आन्तरिक मूल्यांकन भइरहेको बताइएको छ।
जेन जेड आन्दोलनका क्रममा सिंहदरवार, राष्ट्रपति कार्यालय र अदालत परिसरजस्ता महत्वपूर्ण भवनहरू सुरक्षित राख्न सेनाले पर्याप्त प्रभावकारिता देखाउन नसकेको भन्दै विभिन्न तर्फबाट आलोचना हुँदै आएको थियो। बढ्दो आलोचनापछि सैनिक मुख्यालयले घटनाबारे छानबिन अघि बढाएको हो।