
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रदर्शक २४ घण्टापछि भेटिएका छन् ।धवलागिरि गाउँपालिका-४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका-१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रदर्शक नेपालका मिमा शेर्पा शनिबार राति ९:०० बजे घरपझोङ गाउँपालिका-३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताइन् । सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जंगलैजंगलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो ।
श्रमदानबाट झोलुंगे पुल मर्मत
बेनी नगरपालिका–४ र मंगला गाउँपालिका-३ को सिमाना अर्ज खोलामा रहेको झोलुंगे पुलको स्थानीयवासीले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् । बीस वर्षअघि निर्माण भएको पुलमा बिछ्याइएको काठको फल्याक खसेको र भाँचिएका कारण जीर्ण बनेको थियो । मर्मत भएपछि जीर्ण पुलमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या हटेको छ ।
स्थानीयले उपलब्ध गराएको टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय जनाले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले बताए ।
काठ काट्न र सामग्री खरिदमा रु. ६६ हजार ६०० खर्च भएको क्लबले जनाएको छ । स्थानीय वासीबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताए । तीस मिटर लामो यो पुल अर्जेखोला, खर्क, बनाहपिङगे, थामडाँडा, सिंगा तातोपानीका बासिन्दाले प्रयोग गर्छन् ।
सडक यातायातको सुविधा हुनुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आवतजावत यही झोलुंगे पुल रहेको पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बीएण्डपी क्लबलगायत संघसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले बताए ।