
काठमाडौँ। नेपाली सेनाले जेन जेड आन्दोलनका क्रममा ६१ जना भिआइपीको हवाई उद्धार गरेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्न खोज्ने समूहलाई रोकेको दाबी गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा उत्पन्न परिस्थितिबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै ती घटनाका विविध पक्षबारे जानकारी दिएको हो।
सेनाका युद्ध कार्य निर्देशक अनुपजंग थापा र सहायक रथी मनोज थापाले प्रस्तुत गरेको विवरण अनुसार, आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता, मन्त्री तथा तिनका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको थियो।
त्यसैगरी, कुल ६१ जना भिआइपीको हवाई उद्धार गरिएको र नेपाल प्रहरीका २३ कर्मचारीसहित १२९ जनाको स्थल मार्गबाट उद्धार गरिएको सेनाले जनाएको छ।
सेनाका सहायक रथी मनोज थापाले विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई रोकिएको जानकारी दिएका थिए।
“विमानस्थलमा आक्रमण गर्न खोज्ने समूहलाई समयमै नियन्त्रणमा लिनु हाम्रो जिम्मेवारी थियो,” उनले भने, “यदि विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धुमिल हुने थियो।”
युद्ध कार्य निर्देशक अनुपजंग थापाले सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकता भएको बताए। उनका अनुसार सेनाले आन्दोलनका क्रममा घातक शक्ति प्रयोग नगरेको र सबैभन्दा बढी ध्यान मानवीय क्षति घटाउनेतर्फ केन्द्रित गरेको थियो।
सेनाले सार्वजनिक गरेको विवरण अनुसार, आन्दोलन र त्यसपछिका घटनामा जम्मा ७६ जनाको मृत्यु भएको छ। तीमध्ये २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन्।