
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।
काँग्रेसको भावी कदम बारे देशभित्र र बाहिरबाट समेत चासोका साथ हेरिएको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले भने,‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ?’
काँग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउन मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्ने उनले बताए । नेता कोइरालाले महामन्त्रीले मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने विश्वास राखे।
नेता कोइरालाले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर संकलन भएको र त्यसले काँग्रेसमा ऊर्जा भर्ने रूपमा आफूले बुझेको बताए । उनले भने,‘सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ ।’
देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि उठाउनुपर्ने अवस्था रहेको र त्यसको अगुवाइ काँग्रेसले गर्नुपर्ने नेता कोइरालाको भनाइ छ । लिखित धारणा राखेका कोइरालाले पार्टीभित्र विगतको आन्तरिक समस्या बारे भने,‘सम्बन्धमा सरकार र सरकार सञ्चालनमा जाने दलका पात्रहरूबारे लामो समय देखि नागरिकस्तरवाट प्रश्नहरू उठेका थिए।’
लोकतान्त्रिक सार्वभौम सिद्धान्त र मूल्यपद्धतिलाई जित र हार मात्र नभई प्रतिष्ठाको विषय बनाएर काँग्रेस हिँड्दा नागरिकको आवाज नसुन्ने प्रवृत्ति रहेको उनले सुनाए । थप भने,‘हामीले नागरिकको आवाजलाई सुनेनौँ, परिणामस्वरूप आज यो अवस्थामा आइपुगेका छौँ ।’
काँग्रेस भित्र एकताको खाँचो रहेको उल्लेख गर्दै कोइरालाले निर्णय प्रक्रियालाई पारदर्शी र सबैको ‘विन-विन’ हुने भावना विकास गर्नुपर्ने बताए ।