
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् ।
नेपाल पत्रकार महासंघले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गरे ।
सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे।
यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासंघका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले फरक प्रसंग उल्लेख गर्दै सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्ने भएकाले एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल नगिर्ने जिकिर गरे । “सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्छ, एकाध घटनाले उनीहरूको मनोबल गिर्दैन र हामीले गिर्ने वातावरण पनि सृजना गर्नुहुँदैन”, उनले भने ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले फागुन २१ गतेको निर्वाचनका लागि पत्रकार महासंघले आवश्यक सहयोगसहित सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने, “पत्रकार महासंघ सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छ । निर्वाचन गराउनमा पत्रकारले गर्नुपर्ने सहयोग र भूमिका सकारात्मक हुने विश्वास दिलाउन चाहन्छु ।”