काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढी पहिरोबाट आइपरेको विपत्तिका विषयमा छलफल हुने बताइएको छ ।
बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ ।
बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपलब्ध गराउने विपद् पश्चात् फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।