म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चिन र भारत जोड्ने सडक पनि हो ।
कालीगण्डकी नदीको तिर देखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात व्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए।
“सामान्य वर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,” उनले भने “सवारी साधन गुडिरहेको र यात्रु हिँडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौ ।”
सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाइको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तीमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरूले पनि यही सडक प्रयोग गर्छन् ।
मुस्ताङ जाने आउने यात्रुवाहक बस र गाडीहरूको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगंगा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले बताए । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिदैन् ।
बेनी-जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । बर्खायामभरी पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए।
वर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाइ गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए । “सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ,” उनले भने “तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ ।”
बेनी-जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईँले जानकारी दिए ।