
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ
कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।
त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिंह बोहराले जानकारी दिए । बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदी बन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो ।
लमजुङ कारागारबाट छ महिलासहित १०९ कैदी बन्दीलाई स्थानान्तरण गरिएको थियो । दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ ।
आउन बाँकी रहेका कैदी बन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “एक सयको हाराहारीमा कैदी बन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदी बन्दी फरार हुन सक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।”