
काठमाडौँ। विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ।
यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बधाई दिएको छ ।
संगठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिएकी हुन् ।
लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।
नेपालले हासिल गरेको यो उल्लेखनीय उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो।
दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेष गरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपांगता लगायतका समस्याहरू देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।