काठमाडौँ । गत शुक्रवार र शनिवारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो ।
आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भागमा मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले आज बुलेटिन सार्वजनिक गरिसकेको छ ।
कोशी प्रदेशका केही जिल्ला अति भारी वर्षा हुने र कोशी जलाधार क्षेत्रमा पर्ने साना ठूला नदीहरूमा बहाव उल्लेख्य बढ्ने विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली जानकारी दिए । इलामलगायत पहाडी जिल्लामा बढी वर्षा हुँदा पहिरोको पनि उत्तिकै जोखिम रहेको उनले पूर्वानुमान गरेका हुन् ।
यो बेलामा धेरै प्रयोग गरिने शब्दहरू हुन् हल्कादेखि मध्यम , भारी , धेरै भारी र अति भारी वर्षा । यस्तै हल्का बदली, आंशिक बदली र साधारणतया बदली र पूर्ण बदलीजस्ता शब्द पनि मौसमविद्हरुले प्रयोग गरिरहेका छन् र यो हिजो र आजको वर्षामा पनि धेरै प्रयोग भएको शब्द हो ।
जल तथा मौसम विज्ञान विभागले आफ्ना सूचनाहरूमा उक्त शब्द नियमित रूपमा प्रयोग गर्दै आएको छ । मौसमसम्बन्धीका जानकारहरूले यी शब्दहरू बुझ्न सक्छन् तर आम सर्वसाधारणले यस्ता प्राविधिक शब्दहरू नबुझेका हुन सक्छन् । तपाईँ पनि यी शब्दबारे दोधारमा हुनुहुन्छ भने अब प्रस्ट हुनुहुन्छ ।
यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षा मापन
जल तथा मौसम विज्ञान विभागले ती शब्दहरूको परिभाषित नै गरेको छ । बेलाबेलामा भिडियोमार्फत पनि यस्ता शब्दका बारेमा यसरी जानकारी दिने गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।
विभागका अनुसार १० मिलिमिटरभन्दा कम वर्षा मापन भएको अवस्थालाई हल्का वर्षाको रूपमा परिभाषित गर्ने गरिएको छ । दश मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा तलको वर्षालाई मध्यम वर्षा भनेर उल्लेख गर्ने गरिएको छ । ५० मिलिमिटरदेखि माथि १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षाका रूपमा मापन गर्ने गरिएको छ ।
यस्तै १०० मिलिमिटरभन्दा माथि २०० मिलिमिटरभन्दा तलको वर्षालाई धेरै भारी वर्षा भन्ने गरिएको छ । यस्तै २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षाको वर्गमा राखिने गएको विभागले जनाएको छ ।
हल्का बदली, अधिकांश बदली र पूर्ण बदली
यस्तै बदलीका बारेमा पनि बुझ्न जरुरी छ । विभागले वर्षाको जस्तै बदलीको बारेमा समेत परिभाषित गरेको छ । बादल नभएको अवस्थालाई मौसम सफा भनिन्छ । आकाशको २५ प्रतिशत भागमा बादल लागेको अवस्था छ भने त्यसलाई मुख्यतया सफा भनेर भन्ने गरिएको छ ।
छब्बीसदेखि ५० प्रतिशतसम्म बादल लागेको अवस्थालाई आंशिक बदली भनिन्छ । साधारणतया बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशत बादल लागेको अवस्थालाई जनाउँछ ।
यस्तै ७६ प्रतिशतमाथि ८८ प्रतिशतसम्म आकाशमा बादल लागेको छ भने अधिकांश क्षेत्रमा बदली भन्ने गरिएको छ भने १०० प्रतिशत बादल लागेको अवस्थालाई भने पूर्ण बदली भनेर परिभाषित गर्ने गरिएको मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए ।