काठमाडौँ । हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका पाँच विद्यालयमा बाढीको जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित रूपमा राखिएको छ। मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै बाढीपीडितहरूको लागि आवश्यक खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको उल्लेख गरेका छन्।
महानगरको शिक्षा विभागका अनुसार महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि अस्थायी आश्रयस्थल (सेल्टर)को व्यवस्था गर्न सकिने छ। हाल पाँच विद्यालयमा बाढीपीडितहरूलाई राखिएको छ।
उनका अनुशार विश्व निकेतन, त्रिपुरेश्वर-७० जना, गुह्येश्वरी-५२ जना जन विकास विद्यालय, कुलेश्वर-५२ परिवार (२५१ जना) र महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकु-२० जनाले आश्रय लिइरहेका छन् ।
बाढीका कारण घरमा फर्किन नसकेका नागरिकलाई यी विद्यालयहरूमा अस्थायी रूपमा राखिएको छ। महानगरपालिकाले उनीहरूको दैनिक खाना, पानी र आवश्यक सामग्रीको व्यवस्था गरिरहेको जनाएको छ।
साथै आपत्कालीन सम्पर्क नम्बरहरूसमेत मेयर साहले सेयर गरेका छन् । कुनै पनि आपत्कालीन अवस्था वा अव्यवस्था परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:
📞 १६६००१०५५११
📞 ०१५९०१७६४
📞 ०१५९०१७६३
मेयर बालेनले सबै नागरिकलाई जोखिमयुक्त स्थानमा नजान र सुरक्षित रहन अनुरोध गरेका छन्।