काठमाडौँ । एक मजदुरलाई राष्ट्रपतिविरुद्ध फेसबुकमा अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।
ट्युनिसियाली ५६ वर्षीय दैनिक ज्यालादारी मजदुर साबेर चोउचानेलाई सामाजिक सञ्जालमार्फत राज्य सुरक्षामाथि आक्रमण गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्युनिसियन लिग फर ह्युमन राइट्सका अध्यक्ष र चोउचानेका वकिलले शुक्रबार सार्वजनिक रूपमा जानकारी दिँदै उक्त फैसला चकित पार्ने र अभूतपूर्व रहेको बताएका छन्।
राष्ट्रपति कैस सइदले सन् २०२१ मा लगभग सबै कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि ट्युनिसियामा अभिव्यक्ति स्वतन्त्रतामाथि क्रमशः कडाइ हुँदै गएको मानव अधिकार समूहहरूको आरोप छ।
चोउचानेका वकिल उस्सामा बुथाल्जाले रोयटर्ससँग भने, “उनी सामान्य नागरिक हुन्। औपचारिक शिक्षा कम भएका उनले पक्राउ पर्नुअघि फेसबुकमा राष्ट्रपति विरुद्ध आलोचनात्मक पोस्टहरू मात्र गरेका थिए।”
उनले थपे, “नाबेउल अदालतका न्यायाधीशले सामाजिक सञ्जालमा लेखिएको पोस्टका आधारमा उनलाई मृत्युदण्ड सुनाएका छन्। यो चकित पार्ने र न्यायिक इतिहासमै दुर्लभ निर्णय हो।”
फैसला विरुद्ध पुनरावेदन दर्ता गरिएको छ। ट्युनिसियाको न्याय मन्त्रालयले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।