
काठमाडौँ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को महिला एक दिवसीय क्रिकेट विश्वकप २०२५ आजदेखि भारतको गुवाहाटीमा सुरु भएको छ । उद्घाटन खेलमा आयोजक भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।
आसाम क्रिकेट एसोसिएसन स्टेडियम (बारसापारा) मा भएको पहिलो खेलमा भारतले टस हारेर पहिले ब्याटिङमा उत्रिएको छ । भारत उपाधि दावेदार टिम पनि हो । अहिलेसम्म महिला क्रिकेटको उपाधि जित्न नसकेको भारतले यसपाली भने खडेरी तोड्ने लक्ष्य लिएको छ ।
भारतीय टोलीको नेतृत्व हरमनप्रीत कौरले गरेकी छन् भने स्टार ब्याटर स्मृती मन्धाना उपकप्तान रहेकी छन् । भारतीय टोलीमा प्रतिका रावल, हरलीन देओल, जेमिमाह रोड्रिग्स, रिचा घोष, उमा चेत्री, रेनुका सिंह ठाकुर, दीप्ति शर्मा, स्नेह राणा, श्री चरणी, राधा यादव, अमनजोत कौर, अरुन्धती रेड्डी र क्रान्ति गौड छन् ।
यसैगरी, श्रीलंकाको कप्तानी चामारी अतापाथ्थुले सम्हालेकी छन् । श्रीलंकाले पछिल्लो विश्वकपमा भाग लिएको थिएन, तर यसपटक ३१ अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेर तयारी गरेको छ । भारतले भने विगत एक वर्षमा ३८ एक दिवसीय खेल खेलेको छ ।
यो १३ औँ संस्करणको विश्वकपमा आठ टोली सहभागी छन्स् भारत, श्रीलंका, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेश । राउन्ड–रोबिन ढाँचामा प्रत्येक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछन् । सेमिफाइनलहरू नोभेम्बर १ मा र फाइनल नोभेम्बर २ मा हुने छ ।
खेलहरू भारतका गुवाहाटी, इन्डोर, विशाखापट्टनम र नवी मुम्बई तथा श्रीलंकाको कोलम्बोमा आयोजना गरिनेछन् । पाकिस्तानका खेलहरू भने श्रीलंकामा नै हुनेछन् ।
यो विश्वकपमा कुल पुरस्कार राशि १३.८८ मिलियन अमेरिकी डलर रहेको छ । अस्ट्रेलियाले सात टक उपाधि जितेको छ भने इङ्ल्यान्डसँग चार उपाधि छन् ।